संक्षिप्त परिचय
डा. अर्जुन के. कार्की नेपालका प्रख्यात विकासविद्, सामाजिक अभियन्ता, कूटनीतिज्ञ तथा बौद्धिक नेतृत्वकर्ता हुन्। तीन दशकभन्दा बढी समयदेखि उहाँ ग्रामीण विकास, सामाजिक न्याय, मानव अधिकार, दिगो विकास र अन्तर्राष्ट्रिय नीति बहसमा सक्रिय योगदान दिँदै आउनुभएको छ। स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म नेपालको आवाज उठाउने व्यक्तित्वका रूपमा उहाँ परिचित हुनुहुन्छ।
जन्म र पृष्ठभूमि
जन्मस्थान: संखुवासभा जिल्ला, नेपाल
संखुवासभाको ग्रामीण सामाजिक–आर्थिक यथार्थले उहाँको विचार, विकास दृष्टि र नागरिक सरोकारमा गहिरो प्रभाव पारेको देखिन्छ।
शैक्षिक पृष्ठभूमि
डा. कार्कीले उच्च शिक्षा बेलायतबाट ग्रामीण गरिबी र विकास अध्ययनमा विद्यावारिधि (PhD) गर्नुभएको छ। उहाँको अध्ययन र अनुसन्धान गरिबी, विकासको राजनीति, नागरिक आन्दोलन, राज्य–समाज सम्बन्ध र शक्ति संरचनामा केन्द्रित छ। यसअतिरिक्त उहाँले विकास परियोजना व्यवस्थापन तथा कृषि अर्थशास्त्रमा उच्च शिक्षा हासिल गर्नुभएको छ। उहाँ सिद्धान्त र व्यवहारलाई जोड्ने विद्वानका रूपमा चिनिनुहुन्छ।
राजनीतिक यात्रा
विद्यार्थी जीवनदेखि श्रमिक आन्दोलनको राष्ट्रिय नेतृत्वसम्म
डा. अर्जुन के. कार्कीको राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु भएको हो। २०३६ सालको विद्यार्थी आन्दोलन, जनमत संग्रहको कालखण्ड र अनेरास्ववियुको छातामुनि उहाँले सक्रिय राजनीति गर्नुभयो। २०४२–२०४५ को अवधिमा अनेरास्ववियुको केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी सम्हाल्नुभएको काकी २०४६ सालको पहिलो र २०६२/६३ को दोस्रो जनआन्दोलनमा समेत सक्रिय सहभागी रहनुभयो। अध्ययनका प्रारम्भिक चरणदेखि नै उहाँले बेरोजगार तथा सीमान्तकृत वर्गका हक–अधिकार, नागरिक स्वतन्त्रता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यप्रति स्पष्ट प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ। विद्यार्थी राजनीति र श्रमिक आन्दोलन संखुवासभामा समेत विभिन्न तहमा क्रियाशील रहँदा उहाँले संगठन निर्माण, नेतृत्व विकास र विचार–आधारित बहसको संस्कारलाई मजबुत बनाउनुभएको थियो।
विकास र राजनीतिमा भूमिका
हाल: प्रतिनिधि सभा सदस्य उम्मेदवार, संघीय संसद, नेपाल
राजनीतिमा प्रवेशपछि पनि उहाँले विकास, सामाजिक न्याय र नागरिक अधिकारका मुद्दालाई केन्द्रमा राख्दै नीतिमूलक राजनीति र बौद्धिक बहसको पक्षमा आवाज उठाउँदै आउनुभएको छ। ग्रामीण तहदेखि राजनीतिक संरचना सुदृढ बनाउने प्रक्रियामा उहाँको योगदान उल्लेखनीय रह्यो। सञ्जाल निर्माण, पार्टी संगठन विस्तार तथा स्थानीयदेखि राष्ट्रिय तहसम्मको समन्वयमा उहाँले प्रभावकारी भूमिका निर्वाह गर्नुभएको छ। युवाहरू, किसान, महिला, नागरिक समाज र बौद्धिक समुदायलाई राजनीतिक प्रक्रियासँग जोड्ने निरन्तर प्रयास नै उहाँको राजनीतिक यात्राको मुख्य विशेषता हो।
सामाजिक र नेतृत्व भूमिका – ग्रामीण विकास र नागरिक समाज
डा. कार्की नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN) का संस्थापक नेतृत्वकर्ता हुनुहुन्छ। यस संस्थामार्फत उहाँले ग्रामीण नेपालमा गरिबी निवारण, समुदाय सशक्तीकरण, खाद्य सुरक्षा, महिला अधिकार, स्थानीय शासन र दिगो विकासका कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ। अहिले आरआरएन देशका प्रभावशाली मानव अधिकार तथा विकास संस्थामध्ये एक मानिन्छ।
उहाँले स्थापना गर्नुभएको आरआरएन परिवारले देशभरका ६० जिल्लाका १५ लाख परिवारसम्म काम गर्यो। संस्था राज्यको विकल्प होइन भन्ने बुझाइका साथ आरआरएन परिवारले विपन्न र पछाडि पारिएका समुदायमा केन्द्रित भएर काम गर्यो।
विगत ३० वर्षमा संखुवासभामा मात्र तीन दर्जनभन्दा बढी परियोजनाहरू सञ्चालन गर्दै आजका सबै १० पालिका र ७७ वडामध्ये अधिकांश वडासम्म पुगेर २५ हजारभन्दा बढी परिवारसँग सहकार्य गर्यो— किसानसँग कृषि र खाद्य सुरक्षा, बालबालिकासँग शिक्षा, आमा–दिदीबहिनीसँग स्वास्थ्य र सम्मान, युवासँग सीप र अवसरका लागि। वन–वातावरण संरक्षणदेखि विपद् व्यवस्थापन, भूकम्प, बाढी–पहिरो र कोभिड महामारीसम्म आरआरएन परिवार संखुवासभाकै घरआँगनमा उभियो। त्यसैले उहाँ नयाँ होइन, परीक्षण नभएको पनि होइन, कामबाट चिनिनुभएको नेतृत्व हो।
अन्तर्राष्ट्रिय नेतृत्व
उहाँ अल्पविकसित देशहरू (LDC) का साझा मुद्दा उठाउने अन्तर्राष्ट्रिय सञ्जालका विश्व संयोजक रहनुभएको छ। यस भूमिकामा उहाँले गरिब राष्ट्रहरूको ऋण संकट, विकास वित्त, जलवायु न्याय, व्यापार असमानता र विश्व आर्थिक संरचनामा रहेको विभेदका विषयमा विश्वस्तरमा पैरवी गर्नुभएको छ।
संयुक्त राष्ट्रसंघका विभिन्न सभा सम्मेलन तथा अन्तर्राष्ट्रिय नागरिक तथा विकास सम्मेलन र मञ्चहरूमा भाग लिनु भएका डा. कार्की कोफी अन्नानदेखि बान की मुन र एन्टोनियो गुटेरेससम्म भेटघाट र सम्बन्ध भएका नेपालका हिमश्रृङ्खलामा उभिएर जलवायु परिवर्तनको असरका कारण हुने क्षति र नोक्सानीको क्षतिपूर्ति पाउनुपर्ने विषयसम्म वकालत गर्न सक्ने व्यक्तित्वका रूपमा चिनिनुहुन्छ।
कूटनीतिक भूमिका
डा. अर्जुन कार्की नेपाल सरकारका तर्फबाट संयुक्त राज्य अमेरिका तथा अन्य केही देशहरूमा नेपाली राजदूतका रूपमा कार्यरत रहनुभएको छ। राजदूतको हैसियतमा उहाँले नेपाल–अमेरिका सम्बन्ध, विकास सहकार्य, शान्ति प्रक्रिया, आप्रवासी नेपालीको हित र अन्तर्राष्ट्रिय कूटनीतिक संवादमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। साथै राष्ट्रिय विकास परिषद् (NDC) मा रहेर काम गर्नुभएको उहाँ राष्ट्रिय, क्षेत्रीय र वैश्विक केही सञ्जालहरूमा सरकारी र नागरिक समाजको भूमिकामा रहँदै आउनुभएको छ।
नीति, शान्ति र लोकतान्त्रिक योगदान
डा. कार्की नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र द्वन्द्वपछिको संक्रमणकालीन परिवर्तनका बहसमा सक्रिय अनुभवी विचारक र संवादकर्ता हुनुहुन्छ। विकास र राजनीतिलाई अलग होइन, परस्पर पूरक प्रक्रियाका रूपमा हेर्दै उहाँले गाउँ–तहका नागरिकका सवालदेखि राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय मञ्चसम्म संवाद र सहकार्यको सेतुको भूमिका निर्वाह गर्नुभएको छ। राज्य, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायबीच समन्वय गर्दै उहाँले समावेशी लोकतन्त्र, सामाजिक न्याय र दिगो विकासका लागि निरन्तर योगदान पुर्याउनुभएको छ।
लेखन र बौद्धिक योगदान
उहाँका लेखन र विचारहरू भावनात्मक नाराभन्दा गहिरो विश्लेषण, तथ्य र दीर्घकालीन दृष्टिमा आधारित हुन्छन्। विकासलाई केवल परियोजना वा अनुदानको विषय होइन, शक्ति, नीति र नागरिक चेतनासँग जोडिएको संरचनागत प्रश्नका रूपमा बुझ्नुपर्ने उहाँको धारणा छ। ग्रामीण किसान, महिला सम्बन्धी अनुसन्धानमूलक कृतिहरू लेख्नुभएका उहाँका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा मानव अधिकार, विकास अधिकार, गरिबी र अल्पविकास लगायतका विषयमा दर्जनौं अध्ययन प्रतिवेदन, लेख रचना प्रकाशित छन्।
पुरस्कार तथा मान्यता
न्याय र शान्ति पुरस्कार (Justice and Peace Award – २०११)
सामाजिक न्याय तथा शान्ति निर्माणमा योगदान पुर्याएकोले यो पुरस्कार प्राप्त गर्नुभएको हो। मानव अधिकार, शान्ति, सामाजिक न्याय तथा गरिब तथा वञ्चित समुदायका पक्षमा पुर्याएको योगदानको कदरस्वरूप अन्तर्राष्ट्रिय सम्मान प्राप्त भएको हो।
समग्रमा डा. अर्जुन के. कार्की सामाजिक विकास अभियन्ता मात्र होइनन्, कूटनीतिज्ञ मात्र पनि होइनन्— उहाँ विकासको राजनीति बुझ्ने, अन्तर्राष्ट्रिय संरचना चिर्न सक्ने र नागरिक चेतनालाई नीतिगत तहमा जोड्न सक्ने दुर्लभ नेपाली बौद्धिक नेतृत्वमा पर्नुहुन्छ।